images

विद्युत विधेयक, २०८० मा सैद्धान्तिक छलफल सकियो, सोमवारको बैठकमा ऊर्जा मन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको आइतवारको बैठकमा विद्युत् विधेयक, २०८० का सैद्धान्तिक पक्षमाथिको छलफल सकिएको छ ।

छलफलमा सहभागी सांसदहरुले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी सुधार गर्न आवश्यक भएको बताएका थिए ।

मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा ऊर्जा क्षेत्रलाई लिइएपनि विधेयकले त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको सामूहकि प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको विकास सहज हुने बताए ।

उनीहरुले आगामी ३० वर्षसम्म अर्को कानुन तर्जमा गर्ननपर्ने गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

बिजुलीको आन्तरिक खपत बढाउन औद्योगिक वातावरण बनाउनुपर्ने उल्लेख गर्दै सांसदहरुले बिजुलीको विषयमा राम्रै बहस भएपनि पानीको उपयोगका बारेमा विधेयकले मौन रहेको टिप्पणी गरे ।

जलाशययुक्त ठूला आयोजना निर्माण गर्दा त्यहाँ जम्मा हुने पानीको उपयोगलाई विधेयकमा प्रष्ट पार्न जरुरी रहेको उनीहरुको भनाइ थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुमा दिपकबहादुर सिंह, सुनिता बराल, जावेदा खातुन, श्यामकुमार घिमिरे, हेमराज राई, दुर्गा राई , तुजुलाल चौधरीलगायत सहभागी रहेका थिए ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने छन् । प्रतिनिधिसभाको बैठक अपराह्न ३ः ३० बजे बस्नेछ । रासस