images

सरकारको नेतृत्व गरेर सडक संघर्ष चर्काउने माओवादी केन्द्रको कस्तो नीति ?

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।

मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।

दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको हो ।

‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ – माओवादीको सर्कुलरअनुसार सडक संघर्षमा यसबारे खबरदारी गरिनेछ ।

माओवादी केन्द्रका अनुसार पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको हो । त्यसपछि प्रदेश र पालिका तहसम्म सडक संघर्ष चर्काउने माओवादीको तयारी छ ।

माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । तर ती शक्ति को हुन् भन्नेबारे सर्कुलरमा प्रष्ट गरिएको छैन ।

सरकारले उपलब्धि उल्ट्याउने षड्यन्त्रलाई कसरी चिर्नेछ भन्नेबारे प्रधानमन्त्री तथा गृहमन्त्री भएको पार्टीले कुनै सूचना वा धारणा दिएको छैन ।

सामाजिक सञ्जालमा भने माओवादीको यो निर्णयको चर्को आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्ड विरुद्ध आन्दोलन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सर्कुलर भन्दै व्यङ्ग्य गरिएको छ ।