काठमाडौं। इजरायलको विद्रोही पक्ष भनिएको हमास समूहले आफ्नो कब्जामा रहेका १४ इजरेली र तीन विदेशी नागरिकहरुलाई रिहा गरेको छ। हमास समूहले तेस्रो पटक रिहा गर्दै गर्दा उक्त समूहको कब्जामा रहेका भनिएका नेपालका विपीन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ।
विपीन जाेशीकाे रिहाइ गर्नका लागि सरकार कुटनैतिक रुपमा असफल भएकाे भन्दै प्रमुख प्रतिपक्ष दलका नेता लगायतले सामाजिक सञ्जाल मार्फत सरकारकाे आलोचना गरेका छन्। इजरेल-हमास अस्थायी युद्धविरामको तेस्रो दिन इजरेलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन।
मुक्त हुनेमा चार वर्षकी एक बालिका पनि छन्। उनी अमेरिकी र इजरेली दुवै नागरिकता भएका व्यक्तिकी सन्तान हुन्।
यसैबीच हमासले इजरेलसँगको युद्धविरामको समय बढाउन खोजिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले पनि बन्धकहरू घर फर्कन पाऊन् भनेर उक्त युद्धविरामलाई थप लम्ब्याउन चाहेको बताएका छन्।
द्विपक्षीय सहमतिअनुसार शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।
अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएर लगेको थियो।
त्यसयता इजरेलले गरेको हमलामा १४,५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच हमासले पछिल्लो युद्धमा उत्तरी गाजा ब्रिगेडका प्रमुखसहित आफ्ना चार जना सैन्य कमान्डरहरू मारिएको घोषणा गरेको छ।