images

चिकित्सकको सल्लाह विना नै गर्भनिरोध चक्की बिक्रि गर्ने पाइलट प्रोजेक्ट सुरु

काठमाडौं। जापानले परीक्षणका रूपमा चिकित्सकको सल्लाह (प्रेस्क्रिप्सन)बिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ ।

यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ ।

पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घण्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ ।

चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ वर्ष तोकेको छ । तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर) को बीच निर्धारण गरिएको छ ।