images

क्यान्सर पीडित देउवालाई नेविसंघद्वारा तीन लाख दश हजार रुपैयाँ सहयोग

काठमाडौं। नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ)ले क्यान्सर पीडित हरिस देउवालाई तीन लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत रहेका देउवा करिव एक वर्षदेखि क्यान्सरसँग लड्दै आएका छन। आर्थिक अवस्था निकै नाजुक भएका देउवालाई यस अघि देश तथा विदेशमा रहेका आफन्तजन र शुभचिन्तकहरुले आर्थिक सहयोग गरेका थिए। विभिन्न व्यक्तिहरुको चन्दा सहयोग मार्फत उपचार गराईरहेका देउवाको उपचारका लागि नेपाल विद्यार्थी संघले तिहारमा देउसी खेलेर चन्दा संकलन गरेको थियो।

आफ्नो उपचारमा अहिलेसम्म २० लाख भन्दा बढी खर्च भईसकेको पीडित देउवाले स्पेस फोरके समाचारलाई जानकारी दिए। उनले भने,‘मेरो उपचारका लागि हालसम्म २० लाभन्दा बढी खर्च भईसक्यो। १० लाखको आफ्नो जायजेथा बेचेर उपचार गरेको र बाँकी विभिन्न व्यक्तिहरुको चन्दा संकलनबाट उपचार गरेें।’ देउवाले आफू बाँच्न चाहेको र आफ्नो उपचारका लागि सहयोगी मनहरुलाई सहयोगको लागि अनुरोध गरेका छन्।

देउवा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज स्थित सुरेस वाग्ले क्यान्सर अस्पतालमा उपचारार्थ रहेका छन्। उनलाई यस अघि १२ वटा क्यान्सरको प्रतिरोधात्मक किमो चढाईसकिएको छ। देउवाले एउटा किमो चढाउँदा एक लाख भन्दा बढी खर्च हुने गरेको बताए। उनले भने,‘एउटा किमो चढाउँदा कम्तिमा पनि एक लाख दश हजार बढी खर्च हुन्छ। मेरो आर्थिक अवस्थाले भ्याउने अवस्था छैन।म आफ्नो प्राणका लागि सहयोगको याचना गरिरहेको छु। नेविसंघले देउसी भैलो खेलेर संकलन गरेको रकम पाउँदा आफूलाई ठूलो राहतको महसुस गरेको छु। मैले विभिन्न सहयोगी मनहरुबाट यस्तै सहयोगको अपेक्षा समेत गरेको छु उनले भने।’

देउवा अहिले निरन्तर चिकित्सकहरुको सल्लाह र परामर्शमा रहेका छन्। कैलाली घर भएका देउवा त्रिभुवन विश्वविद्यालयका निर्वमान् उपाध्यक्ष समेत हुन। सक्रिय विद्यार्थी राजनीतिमा रहेका देउवा क्यान्सर पीडित हुँदा अहिले अस्पतालको बेडमा छट्पटाईरहेका छन।

नेविसंघका केन्द्रीय अध्यक्ष डुजाङ सेर्पाले हरिस बचाउ अभियान चलाएर तिहारको समयमा देउसी भैलो खेलेर रकम संकलन गरेर हस्तान्तरण गरेको स्पेस फोरकेलाई जानकारी दिए। उनले भने,‘ नेपाल विद्यार्थी संघ गौरवशाली परिवार हो, परिवार भित्रका सदस्यको दुःखमा मलम लगाउँछ। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा तिहारको शुभ उपलक्ष्यमा नेविसंघ केन्द्रीय सदस्य क्यान्सर पिडित हरिष देउवाको उपचारका निम्ति देउसी भैलो कार्यक्रममा आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेका छौं। ’

उनले देउसी भैलोबाट ४ लाख ६२ हजार संकलन भएको बताउँदै उक्त रकम मध्ये कलाकारको खर्च, साउण्ड सिस्टम र खाना खाजा खर्च कटौती गरेर तीन लाख दश हजार रकम जम्मा गरि आज(बुधबार) हस्तान्तरण गरेको बताए। अध्यक्ष सेर्पाले देउवाको उपचारमा राज्य संयन्त्रण समेत संवेदशनशील हुनुपर्ने बताउँदै आफ्हरुको निरन्तर सहयोग रहने र सहयोगी दाताहरुलाई समेत थप सहयोग गरिदिन अनुरोध गरेका छन।