images

लैंगिक हिंसा र बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी दिवस मनाइने

काठमाडौं । लैंगिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी भन्ने मूल नाराका साथ विश्वभर महिनावारी दिवस मनाईने भएको छ।

आगामी डिसेम्बर ८ तारिखका दिन नेपालमा लगायतका विश्वका विभिन्न देशहरुमा मर्यादित महिनावारी दिवस मनाइने भएको हो । ‘लैङ्गिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ पाँचौं मर्यादित महिनावारी दिवस मनाउन लागिएको हो ।

दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालसंगको सहकार्यमा विशेष कार्यक्रम सहित यो दिवस मनाउने तयारी भइरहेको छ ।

विहिबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था राधा पौडेल फाउण्डेसनकी संस्थापक डा. राधा पौडेलले समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवद्र्धन गर्ने उदेश्यले दिवसलाई राष्ट्रिय रुपमै मनाउने जानकारी दिइन् । उनले नेपालमा मनाइने यस दिवसमा विश्वभरीका १५ भन्दा बढी देशबाट भर्चुल रुपमा सहभागिता रहने बताइन ।

पत्रकार सम्मेलनमा बोल्दै डा पौडेलले भनिन,‘महिनावारीलाई लिएर भएको विभेदका कारण एक दर्जनबढी मौलिक हक र मानव अधिकारहरुको हनन भईरहेको छ। अहिलेसम्म महिनावारीसँग जोडिएका धारणा र सोचलाई विश्लेषण गरिएको छैन।’उनले महिनावारीसँग सम्बन्धी प्याड लगायतका स्वास्थ्य सामग्रीहरु महिलामैत्री नभएको आरोप लगाईन। महिनावारी अरु हिंसाको पनि मुल कारक भएको बताइन।

नेपालमा राधा पौडेल फाउण्डेसनले सन् २०१६ सालबाट मर्यादित महिनावारीका क्षेत्रमा काम गरिरहेको जनाइएको छ।
२०७४ सालमा पहिलो पटक महिनावारी सम्बन्धी नीति बनाउनका लागि मस्यौदा तयार भएको पनि सरकारको तर्फबाट अझै पूर्णता हुन नसकेको पौडेलको आरोप रहेको छ।

पौडेलका अनुसार २२ मंसिर अर्थात डिसेम्बर ८ शुक्रबारका दिन ललितपुरको पुल्चोकमा आयोजना गरिने कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भूमिका विषयमा नीति सम्वाद हुनेछ । बालविवाह र महिनावारी विभेद विरुद्धको कवितासँगै कार्यक्रम सुरु हुनेछ ।

दिवसको अवसरमा मर्यादित महिनावारी बारे पहिलो प्रशिक्षण पुस्तिका मर्यादित महिनावारीका १५ सवालमा पत्रकाहरुले लेखेको फेलोसीप किताब पनि बिमोचन गरिने छ । सो अवसरमा मर्यादित महिनावारीका विषयमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता र राष्ट्रिय निवन्ध प्रतियोगिताका विजेता घोषणा समेत गरिनेछ ।

संयुक्त राष्ट्र संघले घोषणा गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको १४ औं दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मान्यता दिन संयुक्त राष्ट्र संघको महासभामा दवाव दिइदै आएको छ । यसपटक पनि दक्षिण गोलर्दिय मर्यादित महिनावारी सञ्जालले नेपाल भ्रमणका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापनपत्र समेत बुझाइएको थियो ।