images

सोती घटनाः सर्वाेच्चमा निरन्तर सुनुवाई हुँदै

काठमाडौं। सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विक सहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आइतबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ ।

आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले सुष्मा मल्लसँग बिहे गर्ने भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए ।

१२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए । घटनाबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । समितिले घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।

घटनाका २३ जना आरोपी पुर्पक्षका लागि थुनामा छन् । ११ जनालाई तारेखमा छाडिएको थियो ।