images

रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं। रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको निधन भएको पुष्टि भएको छ। साेमबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका ६ नेपालीहरुको निधन भएको जनाएको छ।

मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया,कपिलबस्त वाणगंगा-१ का रुपक कार्की,कास्की पोखराका-देवान राई ,पुतलीबजार- ५ स्याङ्जाका पितम कार्की, मेलुङ्ग-६ दोलखाका राज कुमार रोका र इलाम- ५ इलामका गंगाराज मोक्तान रहेका छन्।

गत साउन १६गते परराष्ट्रमन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको व्यहोरा स्मरण गराएको छ।

सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन अनुरोध समेत गरेको छ।

साथै नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको व्यहोरा जानकारी समेत गराएकाे छ । त्यस्तै सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।