images

वाइडबडी प्रकरणः अख्तियाले तीन विदेशी कम्पनीलाई वयानका लागि बोलायो

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ ।

नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।

बिहीबार प्रकाशित सूचनामा निगमले ए–३३०–२०० विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरीको छानबिनका सिलसिलामा उनीहरुलाई बोलाइएको उल्लेख गरेको छ । अख्तियारले बोलाएकामध्ये दीपक शर्मा निगमलाई दुईवटा वाईडबडी विमान बेच्ने सम्झौता गरेको अमेरिकाको एएआर कर्पाेरेसनका अध्यक्ष हुन ।

जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान खरिद बिक्री प्रक्रियामा जोडिएको जर्मनीस्थित जर्मन एभिएसन क्यापिटल, यही नाममा सिंगापुरमा दर्ता भएको अर्काे कम्पनी र निगमलाई वाइडबडी विमान बेच्न आयरल्याण्डमा खडा गरिएको हाई फ्लाई एक्सका निर्देशक हुन । ओलेग कालिस्त्रु जर्मन एभिएसन क्यापिटल नामक कम्पनीका वित्तीय निर्देशक हुन् ।