images

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमनका अधिकृत सहित ३२ जना पक्राउ

काठमाडौं। नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभागका अधिकृत सहित ३२ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित ३२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यसैगरी, एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिए। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुको नाम सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् ।

एसएसपी राठौरका अनुसार पक्राउ परेकामध्ये ९ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको छ। त्यस्तै, १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्।