images

वेपत्ता युवकको खोजीका लागि सेती नदीको बाँध खोलिदैं

काठमाडौं। पोखरामा बेपत्ता एक युवकको खोजीका लागि बिहीवार सेती नदीको बाँध खोलिने भएको छ ।

तनहुँ घर भई पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र गत २५ गतेदेखि सम्पर्कविहीन रहेको र सेतीमा हाम फालेको आशङ्का गरिएको छ । बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएकाे प्रहरीको भनाइ छ ।

बुवा हरिप्रसाद औषधि लिन गएका बेला संगम इमर्जेन्सी वार्डबाटै सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ । खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको थियाे । थप खोजीका लागि विहिबार सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

पोखरा महानगरपालिका–१६ दीपमा बनेको ड्याम दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ ।