images

पूर्व गृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश

काठमाडौं। पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ। उच्च अदालतले पाटनले विहिबार पूर्व गृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

बिहीबार भएको निर्णायक सुनुवाइपछि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गरेका हुन् ।

पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा दुई जना न्यायाधीशहरू पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो । त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो । १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो । न्यायाधीश पाण्डेले खाणले प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान दिँदा अभियोग दाबीको कसुरमा पूर्णतः इन्कार रही बयान दिएको, भुटानी शरणार्थी पहिचान गर्न तयार पारिएको प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन कसरी तयार भयो भन्ने आफूलाई थाहा नभएको भनी व्यहोरा लेखाएको लगायत आधार देखाएका थिए ।

बिहीबारको बहसमा खाणका कानुन व्यवसायीहरूले यसअघि न्यायाधीश पाण्डेको आदेश सदर गरी थुनामुक्त गर्न माग गरेका थिए । सरकारी वकिलहरूले भने खाणलाई थुनामै पठाउने गरी दिएको न्यायाधीश खरेलको आदेशलाई सदर गर्नुपर्ने जिकिर गरेका थिए ।

उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन