images

आज पुस १ गते, निर्दलीय पञ्चायती व्यवस्था सुरु भएको दिन

काठमाडौं। आज पुस १ गते । राजा महेन्द्रले प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेको दिन । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरी जलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो ।

प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी एकतन्त्रीय पञ्चायती शासन व्यवस्था लागू गर्ने महेन्द्रको उक्त कदमपछि मुलुकमा लामो समयसम्म निर्दलीय व्यवस्था कायम रह्यो । दलहरूमाथि प्रतिबन्ध लाग्यो । वाक स्वतन्त्रता हनन हुन पुग्यो । महेन्द्रको उक्त कदमले प्रजातन्त्रको घाँटी निमोठिएको भन्दै नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीहरूले विरोध गरेका थिए ।

अहिलेका राजनीतिक दलहरूले पुस १ को कदमलाई जनअधिकार खोसिएका दिनका रूपमा सम्झिने गरेका छन् तर, राजावादीहरूले भने अहिले पनि पुस १ लाई युगान्तकारी परिवर्तनका रूपमा लिने गर्छन् । पुस १ को सन्दर्भमा श्री ५ महेन्द्र चीर स्मरण समितिले महेन्द्रको कदमले नेपाललाई बाह्य हस्तक्षेपबाट जोगाएर विकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको दाबी गरेको छ ।

पूर्वराजा महेन्द्र निरंकुश पञ्चायती व्यवस्थाको स्थापना गरेवापत जति आलोचित छन्, राष्ट्रियता र विदेश नीतिका सम्बन्धमा त्यति नै बसहका पात्र बन्दै आएका छन् । मुलुकमा राष्ट्रियताको जग बसाउने र नेपालभित्र बढ्दो भारतीय प्रभावलाई हटाई मुलुकको सार्वभौमिकता जोगाउन महेन्द्रले निर्णयक भूमिका खेलेको भन्दै उनको प्रशंसा गर्नेहरु अहिले पनि धेरै भेटिन्छन् । महेन्द्रले राष्ट्रियता नजोगाएको भए यतिबेला नेपाल भारतको अधीनस्थ भइसक्ने उनीहरुको तर्क छ ।