images
images

रुकुम पश्चिमका झण्डै साढे १३ हजार भूकम्प पीडितले पाए आवास निर्माण बापत पहिलो किस्ताको रकम

काठमाडौं । रुकुम पश्चिममा झण्डै साढे १३ हजार भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । जिल्लाका छ वटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका छन् । त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् ।

आठबीकोटमा सात हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका चार हजार सात सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ ।

बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार छ सय ९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ ।