images

यही तालले हो भने २०८३ सालसम्म फास्ट ट्रयाकको काम बन्दैनः प्रधानसेनापति शर्मा

काठमाडौं। प्रधानसेनापती प्रशुराम शर्माले यहि ताल भए फास्टट्रयाकको काम नबन्ने उद्घोष गरेका छन । बुधबार प्रतिनिधि सभा अन्तरर्गतको राज्य तथा शुसासन समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैं प्रधानसेनापति शर्माले ऐन कानुनको कारणले काम प्रभावित हुने गरेको प्रष्ट पारे।

उनले भने,‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा रुख काट्न ९ महिना लगाइदिएको छ, कसको गल्ती, म कसैको गल्ती भन्दिन, यो हजुरहरुले बनाएको नियम हो । ’

प्रधानसेनापति शर्माले आफूले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको शर्माले गुनासो गरे । उनले सांसदहरुलाई प्रति प्रश्न गर्दै भने ‘खै त फास्ट ट्रयाकमा नियम दिन सक्नुभएको ? काम चाहिँ फास्ट ट्र्याकमा गर्नुस् भन्ने नियम कानुन चाहिँ २०१७ सालदेखिको देखाउनुहुन्छ । यही तालले हो भने २०८३ सालसम्म पनि बन्दैन’ उनले भने ।

फास्ट ट्रयाक निर्माणका लागि वन ऐनमा रहेको रुख काट्ने प्रावधानसँगै जग्गा प्राप्ति ऐन संशोधन गर्नैपर्ने उनले बताए । ‘जमिन सरकारको छैन, जनताको सम्पत्ति लुटेर खान पाइँदैन, जनतालाई उसले भनेको रकम दिएर मात्र लिन पाइन्छ । सरकारी भाउ एउटा छ, बजार भाउ अर्को छ’ उनले भने, ‘यस्ता समस्या समाधान नभएर ढिला भएको हो ।’