images

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो । सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाटवडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको जस्ता पाता बोकेको रा १ त १४ ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट– ८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की घाइते भएका हुन् । यस्तै वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन् ।

नगर अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जनाएको छ ।