images
images

काठमाडौं महानगरपालिकाद्वारा नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ प्रदान

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ ।

चालु आर्थिक वर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ मध्ये ३० लाख रुपैयाँ उपलब्ध गराएको हो । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उक्त रकम संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेकी हुन । यस क्रममा उनले भनन्, ‘लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नु पर्ने अवस्था हुनुहुँदैन । बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।’

उनले, बाल पुनःस्थापना र सुधार केन्द्र स्थापना गर्ने संगठनको प्रस्तावमा महानगरपालिका सकारात्मक रहेको बताए।

संगठनकी अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरे । भएको चल सम्पत्ति पनि ठाउँ ठाउँमा अपचलन भएको छ । त्यसलाई रोकेर आफ्नो आम्दानी बाल संरक्षणका लागि उपयोग गर्ने वातावरण बनाउँदै लगेको उनको भनाइ थियो ।

नगरपालिकाले आफ्ना क्षेत्रका बालबालिका बाल संगठनको आश्रयमा पुग्नु पर्ने अवस्थाबाट रोक्न पालिका स्तरमा संरक्षण केन्द्र बनाउन, बाल्यकालदेखि संगठनको संरक्षणमा रहेर प्रौढ अवस्थामा पुगेका व्यक्तिलाई अन्य आश्रमहरुमा व्यवस्थापनमा सहयोग गर्न, दुर्व्यसनमा रहेका बालबालिकाहरुलाई सुधार गर्न पुनःस्थापना तथा सुधार केन्द्र निर्माण र सञ्चालन गर्न पालिकाबाट सहयोगको अपेक्षा गरिन्।

त्यस अवसरमा संगठनका उपाध्यक्ष प्रेम पराजुली, सदस्यहरु, महानगरपालिकाको सामाजिक विकास विभागका अधिकारीहरु सहभागीता रहेको थियो ।