images
images

भारतबाट भन्सार छली गर्दै भित्राएको ५५ क्विन्टल प्याज बरामद

नवलपरासी। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको अवैध आयात बढेको छ । भारतीय सीमा नाकाबाट अवैध रुपमा धमाधम प्याज भित्रिन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।

शुक्रबार मात्र पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हिनन्दनबाट प्रहरीले ठूलो मात्रामा प्याज बरामद गरेको छ । प्रहरीका अनुसार जिल्लाको प्रतापपुर गाउँपालिका-५ धर्मौली र रेगैंयाबाट ९२ बोरा करीब (४६ क्विन्टल) र पाल्हिनन्दन गाउँपालिका-५ भगतपुराबाट सिमा नाकाबाट ओसारपसार गरेर भण्डारण गरिएको १८ बोरा करिब ( ९ क्विन्टल) प्याज बरामद भएको हो ।

भारतीय नम्बर प्लेटको अनटेस्ट ट्याक्टरमा नेपालतर्फ भन्सार छली गरेर ल्याउँदै गर्दा प्रहरीले प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले स्पेस समाचारलाई जानकारी दिए।

प्याज र ट्याक्टर नियन्त्रणमा लिएपनि चालक फरार भएको प्रहरीले जनाएको छ । बरामद गरेको प्याजको बजार मुल्य ४ लाख र ट्याक्टरको ८ लाख गरेर १२ लाख रुपैंया बराबरको सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको विभिन्न नाकाबाट दैनिक रूपमा लत्ता कपडा, चीनी, प्याज, आलु, किराना सामान, कस्टमेटिक सामान लगायतको सामानहरू भारतबाट ओसारपोसार भई रहेको छ।