images

आजबाट नारायणगढ मुग्लिन-सडकखण्ड दैनिक चार घण्टा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन पहाडको भित्तो काट्नुपर्ने भएपछि आजबाट दैनिक चार घण्टा सवारीसाधन बन्द हुने भएकाे छ । पहाडको भित्तो काटेर नसकिने बेलासम्म आजबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाडको भित्तो काट्ने काम सुरु गरिएको हो ।

केही वर्ष अगाडि यस सडक विस्तार गरी फराकिलो बनाइए पनि पुराना पुल साँघुरो र जिर्ण हुँदा नयाँ फराकिला पुल निर्माणका लागि पहाडको भित्तो काट्न सुरु गरिएको हो । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले आजबाट चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकेर काम अघि बढाइएको हो । सडक अवरुद्ध पारेर पहाड काट्ने काम गर्दा यात्रुहरु मर्कामा पर्ने गरेका भन्दै उनीहरुले वैकल्पिक सडक निर्माणका लागि जोड दिएका छन् ।

केही समय अगाडि पनि नयाँ पुल निर्माण गर्न भन्दै यस सडक एक महिनासम्म दैनिक चार घण्टासम्म अवरुद्ध पारेर पहाड काट्ने काम गरिएको थियो । ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने गर्छन् । सडक अवरुद्ध पारेर पहाडको भित्तो काट्न सुरु गरेपछि सबैभन्दा बढी मर्कामा बिरामीहरु पर्ने गरेका छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाकाअनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजार तथा मालवाहक सवारीसाधन भतेरी जङ्गलमा रोकिनेछ । काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजार तथा मालवाहक सवारीसधान केबलकारमा रोकिनेछ । त्यस्तै पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटार तथा मालवाहक सवारीसाधनलाइ सत्रसय फाँटमा रोकिने छ । तीन हप्ताका लागि दैनिक चार घण्टा सडक बन्द गरेर भित्तो काट्ने काम सुरु गरिएको हो ।