images

जाजरकोटमा ११ हजार ३ सय ३६ भूकम्प पीडित परिवारको अस्थायी आवास निर्माण सम्पन्न

काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावित ६७ हजार बढी लाभग्राहीमध्ये ११ हजार ३ सय ३६ परिवारको मात्र अस्थायी आवास निर्माण सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १० हजार ११८ घर निर्माणाधीन छन् ।

अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण गर्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । जाजरकोटमा पाँच हजार २ सय २, रुकुमपश्चिममा पाँच हजार ७ सय ९८, सल्यानमा १ सय ९३, बझाङमा १३ र बाजुरामा १ सय ३० घर निर्माण सम्पन्न भएका छन् ।

मंगलबारसम्म अस्थायी आवासका लागि २ अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको छ । त्यसमध्ये एक अर्ब ५३ करोड रुपैयाँ जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रुपैयाँ पठाइसकिएको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म जाजरकोटमा ३५ हजार १ सय ४०, रुकुमपश्चिममा २३ हजार ६ सय ८, सल्यानमा एक हजार ७ सय ३०, बझाङमा चार हजार ५सय ७६ र बाजुरामा दुई हजार ७ सय २९ गरी कुल ६७ हजार ७ सय ८३ लाभग्राही कायम भएका छन् । अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणले जनाएको छ ।