images

रवी लामिछाने छानविनका लागि आफै अग्रसर बन्नुपर्छ कि पर्दैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने सञ्चारकर्मदेखि राजनीतिमा आउँदा समेत अनेकौं विवाद सहित चर्चाको शिखरमा मुछिरहे । सञ्चारकर्म मात्र हाेइन उनी राजनीतिमा प्रवेश गर्दा समेत आफूलाई विवाद रहित भने बनाउन सकेनन् ।

उनकाे विगतदेखि वर्तमानसम्म नियाल्ने हाे भने कुनै न कुनै विवादमा मुछिएकै देखिन्छन् । दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि गृहमन्त्री सहितको सांसद पद नै गुमाउन पुगेका लामिछाने संसदमा पुर्नबहाली हुन सफल भए । तर उनी अहिले पनि सहकारी हिनामिना प्रकरणमा मुछिएका छन् । सञ्चारमाध्यमहरुमा रविलाई दोषी करार गर्ने गरी समाचार आइरहेका बेला उनी भने आफ्नो कुनै संलग्नता नरहेको भन्दै सामाजिक सञ्जाल मार्फत प्रष्टिकरण दिइरहेका छन।

अमेरिकाबाट स्वदेश फर्केपछि नेपाल टेलिभिजनमा प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रम चलाएर चर्चामा आएका रवी नेपाल टेलिभिजनको यात्रा छोड्दै न्यूज ट्वान्टी फोरमा जोडिए । त्यहाँ पनि उनले जनतासँग सिधा कुरा कार्यक्रम नै सञ्चालन गरे । उक्त कार्यक्रमले उनलाई चर्चाको शिखरमा पु¥यायो ।

न्यूज ट्वान्टी फोरमा काम गर्ने शिलसिलामा आफ्नै सहकर्मी सालिकराम पुणासैनीको आत्महत्या दुरुत्साहनमा मुछिए । आत्महत्या दुरुत्साहनमा सफाई पाए लगत्तै लामिछाने न्यूज ट्वान्टी फोरबाट बिश्राम लिँदै ग्यालेक्सी टेलिभिजनमा जोडिए । त्यति बेलासम्म पनि रवीको हाइहाइ नै थियो । सञ्चारकर्ममा रहेर नेता, ठेकेदार लगायतमाथि प्रश्न तेस्राइरहने रवीपछि सञ्चारकर्म छोड्दै जवाफ दिने ठाउँमा आईपुगे ।

जब रवी सञ्चारकर्म छोडेर राजनीतिमा लागे पनि उनको विवादको श्रृखला भने रोकिएन । अमेरिकी र नेपाली गरि दोहोरो नागरिकता प्रकरणमा उनको विवाद अदालतसम्म पुग्यो । अमेरिकी नागरिकता नत्यागेरै प्रतिनिधि सभाको निर्वाचन जित्न सफल लामिछाने अनन्त दोहोरो नागरिकता प्रकरणमा अदालतले नै उनलाई दाेषि करार गर्याे । गृहमन्त्रीमा वहाल रहेकै अवस्थामा नागरिकता प्रकरणकै कारण उनी मन्त्रीबाटै नै च्यूत हुन पुगे ।

अदालतको आदेश बमोजिम पून: नागरिता प्राप्ति गर्दै लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा उपनिर्वाचन मार्फत पूनः भारी मत सहित निर्वाचित हुन पुगे । उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले संसदको चौथो शक्तिको रुपमा छ । नागरिकता विवाद सल्टाएका लामिछाने अहिले फेरि सहकारी घोटाला प्रकरणमा मुछिएका छन् ।

ग्यालेक्टी टेलिभिजनका अध्यक्ष जिबी राई सञ्चालक रहेका विभिन्न सहकारीबाट लामिछानेको नाममा ऋण निकासा भएको र सो रकम ग्यालेक्सी टेलिभिजनमा पु¥याइएको दाबी सहित समाचारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् । पोखराको सूर्यदर्श सहकारीदेखि चितवनको साहारा चितवन सहकारी र बुटवलको सुप्रिम सहकारीबाट समेत लामिछानेको नाममा रकम निकासा भएको दाबी गरिएको छ । तर, लामिछानेले भने कुनै पनि सहकारीमा आफ्नो खाता नहरेको र ऋण पनि नलिएको दाबी गरेका छन् ।

यी सबै सहकारीमा ग्यालेक्सी टिभीका अध्यक्षसमेत रहेका जिबी राई सञ्चालक छन् । राईले आफू सञ्चालक रहेको सहकारीबाट कानुन विपरित ऋण निकालेर टेलिभिजनमा लगानी गरेको र त्यसको हिस्सेदार रवि लामिछाने पनि भएको बताइएको छ । सहकारी हिनामिना प्रकरणमा राईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् । यही प्रकरणमा राईका साझेदार कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।

ग्यालेक्सि टेलिभिजन खोल्दा लामिछानेको नाममा पनि १५ प्रतिशत सेयर रहेको थियो । उक्त सेयर बापत आफूले रकम नहालेको र गुडविल वापत पाएको सेयर टिभि छोडेसँगै फिर्ता गरेको लामिछानेको दाबी छ । तर आमसञ्चार माध्यममा आएका समाचारमा भने रबीको नाममा रहेको सेयरमा सहकारीको रकम रहेको दाबी गरिएको छ ।

सहकारी र टेलिभिजन दुबैको सञ्चालक रहेका राईले टेलिभिजनका नाममा ठूलो रकम निकासा गरेको अनुसन्धानबाट पनि देखिएको छ । जुन कानुनविपरित पनि हो । सहकारीको पैसा हालेर खोलिएको टेलिभिजनको हिस्सेदार भएकाले रविमाथि प्रश्न उठ्नु स्वभाविक हो । रवी प्रत्यक्ष रुपमा सहकारी हिनामिनामा संलग्न थिए या थिएनन् भन्ने त अनुसन्धानबाट नै खुल्ला । तर, आफू सेयर होल्डर रहेको संस्थामा आएको रकमबारे लामिछानेले देखाएको अनभिज्ञता भने संशयपूर्ण देखिन्छ ।

अझ लामिछानेले सार्वजनिक रुपमै सहकारीको पैसा सदस्य नै नभएको व्यक्ति र अरु कम्पनीमा लगानी गर्न हुँदैन भन्नेबारे आफूलाई जानकारी समेत नभएको हलुका प्रतिक्रिया दिइरहेका छन् । नागरिकता प्रकरणमा पनि उनको यस्तै जवाफ थियो । सञ्चारकर्ममा हुँदा कानुनका दफादफा देखाएर अरुमाथि प्रश्न उठाउने लामिछानेले आफूमाथि प्रश्न उठेपछि थाहा पाइन भन्नु कत्तिको जायज होला ? अझ जान्नेलाई छान्ने भन्दै राजनीतिमा होमिएर उपप्रधानमन्त्रीसमेत भएका व्यक्तिले मलाई थाहा भएन भनेर सुख पाउँदैनन् ।

कानुनको अनविज्ञिता क्षम्य हुँदैन भन्ने फौजदारी कानुनको विश्वव्यापी मान्यता रहिरहँदा मलाई थाहा थिएन भनेर उनले उन्मुक्ति खोज्नु कत्तिको जायज हो भन्ने सवाल पनि उत्तिकै छ । उनी दोषी हुन या होइनन् अनुसन्धानको विषय हो । तर, प्रश्न उठेपछि जवाफदेही भने हुनैपर्छ । आफूलाई थाहा भएन भनेर पन्छिनु भन्दा पनि सत्यतत्थ्य छानबिनमा सहयोग पुर्याउँदै दोषीलाई कारबाहीका लागि भने स्वयम् लामिछानेले नै अग्रसरता देखाउनुपर्छ ।