images

बालकुमारी घटनाःपक्राउ परेका ७३ जना भए रिहा

काठमाडौं । ललितपुरको बालकुमारीमा गत शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जना प्रदर्शनकारी रिहा भएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आज छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको थियो। सरकारले मृतक परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको भए पनि मृतकका आफन्तजनहरुले शव भने बुझेका छैनन् ।

प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।