images
images

आख्यानकार राईको ११ वटा कथा संग्रहित कथासंग्रह‘खोक्पा’ सार्वजनिक

काठमाडौं ।गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथासंग्रह ‘खोक्पा’ लोकार्पण भएको छ । काठमाडौैं स्थित अनामनगरमा रहेको किम्ची रेष्टुरेन्टमा उक्त कथाको एक औपचारिक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो ।

पेज टर्नर प्रा.लि.का अध्यक्ष भुवनहरि सिग्देल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

‘खोक्पा’ कथासंग्रहमा एघारवटा कथा संग्रहित रहेका छन् । गीति लेखनबाट साहित्यक क्षेत्रमा आएका राईले यस अगाडि तिलस्मी उपन्यास बजारमा ल्याइसकेका छन । उनले ‘खोक्पा’ मा माथि तटस्थ रूपमा समालोचना गरिदिन समीक्षक एवम् समालोचकहरुसँग आग्रह गरेका छन्।

विमोचन कार्यक्रममा बोल्दै समालोचक निमग्ना घिमिरेले यस कथा संग्रहले प्रकृति र मानव जीवनबीचको तादम्यतालाई देखाएको बताईन् । यस भित्रका कथामा गाउँलाई हरियाली पार्न युवा स्वदेश फर्कनुपर्ने सन्देश रहेको उनको भनाइ छ । त्यसैगरी सञ्चारकर्मी हेम भण्डारीले ‘खोक्पा’ कथासंग्रह प्रकृति, पहिचान र प्रतिरोधको त्रिवेणी भएको बताए । उनले भने, यी कथाहरूले संकटग्रस्त पर्यावरणलाई संरक्षण गर्नुपर्ने आवाज उठाएका छन् ।

कथामा बुढ्यौली जीवन, वैदेशिक रोजगारी, लाहुरे संस्कृति, जनजातीय पहिचानजस्ता विविध विषयबस्तुहरु समावेश गरिएको छ । कथाहरूमा अप्राकृतिक विषयको हार भएको बताएका छन् ।

साहित्यकार एवम् वक्ता महेश पौड्यालले समकालीन नेपाली कथा लेखनशैली र यसले समातेको पथका विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए । उनले समाकालीन कथाकारले पाठकीय चेतना र लक्षित वर्गको अपेक्षा बुझ्न नसकेको आरोप लगाए । समकालीन कथाकारले आर्किटाइप मोडलका कथालाई फेर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले समीक्षले कतै पाठकलाई भ्रम त पारेको छैन भन्ने शङ्का व्यक्त गरेका थिए । उनले भने, “राष्ट्रवादको मूल आयाम भूगोल नभएर मान्छे हो र त्यही मान्छे नै कथा हो ।” कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देलले समाज र मनको संयोजन नै कथा भएको धारणा व्यक्त गरे । उनले स्रष्टाहरू अवैतनिक राष्ट्रवादी भएको बताए ।

कार्यक्रममा प्रा.डा गोविन्दमान सिंह कार्की, नन्दु उप्रेती, राधा कार्की, श्रीओम श्रेष्ठ ‘रोदन’, मन्दिरा मधुश्री, राजबाबु श्रेष्ठ ‘सागर’, अच्युत धिमिरे, राज रजक, हेम प्रभास, सरोज कोइराला, प्रज्वल अधिकारी लगायतका लेखक साहित्यकारहरूको उपस्थिति रहेको थियो ।