images

प्रचण्ड नेतृत्व सरकारले जनतालाई विश्वास दिलाउन नसकेको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले पुष्पकमल दहाल नेतृत्वको सरकारले जनतामा विश्वास जगाउन नसकेको निष्कर्ष निकालेको छ । शनिबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले अनेक प्रयासका बावजुद सरकारले जनतामा विश्वास जगाउन नसकेको बताए ।

संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि संविधानले निर्दिष्ट गरेका धेरै सवालहरूमा आवश्यक कानुन निर्माण हुन नसकेकाले प्रणालीप्रति नै प्रश्न उठाउने प्रयास भइरहेको कांग्रेसको ठहर छ । ज्याला मजदुरी, खेतीपाति र व्यापार व्यवसाय गर्ने व्यक्ति तथा परिवारले कमाएर सहकारीमा जम्मा गरेको रकम संचालकले मनोमानी ढंगबाट आफूखुसी कारोबार गर्ने गरेकोमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ । त्यस्तै बैठकले संघीयतासँग सम्बन्धित कानुनहरु तत्काल बनाउन पनि माग गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनको मापदण्ड बनाएको छ । हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उम्मेदवार छान्दा भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई बनाउने मापदण्ड बैठकले तय गरेको विश्वकर्माले जानकारी दिए

कांग्रेसले यसअघि नै राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।