images

सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्यांक विश्लेषण गरेको छ ।

यस विधिअनुसार जनसङ्ख्या, जनघनत्व, बसोबास क्षेत्र र सहरी क्षेत्रको श्रेणीगत विशेषताको निरन्तरता जस्ता चार आधारमा वडाहरुलाई ग्रामीण तथा सहरी क्षेत्र श्रेणीगत वर्गीकरण गरिएको कार्यालयले जनाएको छ । ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार राष्ट्रिय जनगणना वि‍.स. २०६८ र विसं २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट बढेर २७ दशमलव ०७ पुगेको छ ।

सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको छ । पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रको जनसङ्ख्या भने ३८ दशमलव ५ प्रतिशतबाट ३३ दशमलव १९ प्रतिशतमा झरेको सो अध्ययनबाट देखिएको छ । भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसङ्ख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत छ । सहरोन्मुख जनसङ्ख्या तराई क्षेत्रमा ८५ प्रतिशत छ ।