images

बागमती प्रदेशमा डरलाग्दो रुपमा फैलिँदै अटिजम समस्या

काठमाडौं । बागमती प्रदेशमा अटिजम समस्या डर लाग्दाे रुपमा फैलिँदै गएकाे छ। बालबालिकाको विकासको क्रममा देखिने स्नायु सम्बन्धी समस्यालाई अटिजम भनिन्छ । यो कुनै रोग भने हैन ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको अटिजम सम्बन्धि छलफल कार्यक्रममा मन्त्रालयका डा. साकार खनालद्धारा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार यस प्रदेशमा सबैभन्दा बढी समस्या काठमाडौं जिल्लमा रहेको पाइएको छ ।

तथ्याङ्क अनुसार, बागमती प्रदेशमा एक हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको डा. खनालले बताए । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको उनले बताए ।

प्रदेशमा अझै अटिजम अवस्थाको पहिचान गर्न नसक्दा कयाै बालबालिकामा यस्तो समस्या हुने सक्ने डा खनालले बताए । नेपालमा ग्रामीण क्षेत्र भन्दा शहरीक्षेत्रका बालबालिका यस समस्याबाट प्रभावित भएको तथ्याङ्कले प्रष्ट पारेको छ ।

बालक भन्दा बालिकामा बढी अटिजमको समस्या देखा पर्ने गरेकाे छ । नेपालमा कुल जनसंख्यामा कम्तिमा तीन लाख जनामा अटिजम भएको अनुमान गरिएको छ । ५ देखी ७ वर्ष भन्दा कम उमेरसमूहका बालबालिका यसको प्रभावमा परेको पाइएको डा खनालको भनाई रहेको छ ।

कुनै पनि व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष सम्वाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्याउने, अरुसँग घुलमिल नहुने, अस्वभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भन्ने गरिन्छ, डा रामप्रसाद पोखरेलले भने। लामो समय चितवनमा यसैक्षेत्रमा सक्रिय डा पोखरेलले सन् २०१२ देखीनै देखा परेपनि २०१८ देखीभने उपचार गराउँन अटिजम प्रभावित बालबालिका आउन सुरु भएको बताए । अटिजम फरक हुन्छ, लक्षण पनि उमेर अनुसार फरक रहने र गुणहरु पनि फरक रहने चिकित्सकहरुको भनाई रहेको छ ।

स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख एंव प्रवक्ता डा खगेश्वर गेलालले प्रदेशका १३ वटै जिल्लामा अटिजमसम्बन्धि काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने बताए । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने तयारी गरेको उनले बताए । अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्रचार्यले जुम मार्फत अटिजम सम्बन्धि जानकारी दिँदै नेपालमा अटिजमको अवस्था र सहभागीको जिज्ञासाको जवाफ दिए।

सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ ।