images
images

बालाजुमा वारुण यन्त्र कार्यालय भवनको शिलान्यास

काठमाडौँ ।बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज शिलान्यास पूजा भएको छ ।

विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा,काठमाडौं महानगरपालिका वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले जग पूजा गरेका हुन्।

गत वर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गरेका थिए । यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) शिलान्यास गरिएको हो ।

भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रुपैयाँ गरिएको थियो । बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ ।

‘महानगरपालिका क्षेत्रभित्रका विपदजन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक स्थानमा पु¥याउँदै लगेको छ ।’ विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले शिलान्यास अवसरमा भने, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ । अहिले बालाजुमा निर्माण कार्यको थालनी ग¥यौँ । यो सेवा विस्तारित हुने चरणमा छ । महानगरपालिकाले योजनावद्ध रुपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको छ ।’

आफ्नो वडामा यसप्रकार आपतकालीन साधन उपकरण राख्ने भवन विस्तार हुनु, वडाबासीले तिरेको कर वडाकै नागरिकको सुरक्षाका लागि फिर्ता भएको महसुस गरेको छु । शिलान्यासपछि संक्षिप्त प्रतिक्रियामा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले प्रतिक्रिया दिए ।

भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ ।


भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्वरुप मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ । भित्री भाग आधुनिक शैलीको हुनेछ ।

भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट््याङ्कर राख्ने ठाउँ हुनेछ ।
जमिन मुनि र माथि छतमा गरि १ लाख लिटरको पानी ट््याङ्की रहनेछ छन् । भवनको माथिल्लो तलामा विपद ब्यबस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ ।

पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरुका लागि आवास सहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ । जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षा सम्बन्धि सरसामान राख्ने कोठा हुनेछन् ।