काठमाडौं । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक भोलि(बिहीबार)देखि काठमाडौंमा सुरु हुने भएको छ ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकर बिहीबार बिहान काठमाडौं आइपुग्दै छन् । संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्रीसँगै सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् । लामो समयदेखि तयारी चलिरहेको संयुक्त आयोगको बैठकका बारेमा नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
जयशंकर नेतृत्वको प्रतिनिधिमण्डलका लागि परराष्ट्रमन्त्री एनपी साउदले रात्रीभोज आयोजना गर्नेछन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सँग सामूहिक भेटघाट हुनेछ ।