images

प्रधानमन्त्री प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि राजीनामा बुझाएका थिए । गजुरेलले के कारणले राजीनामा दिएँ भन्ने कुरा भने प्रष्ट खुलाएका थिएनन् । उनले आफ्नो राजीनामा स्वीकृत भएपछि मात्रै त्यसबारे मुख खोल्ने बताउँदै आएका थिए ।

प्रतिनिधि सभा निर्वाचनमा आफ्नो टिकट खोसेर राजन न्यौपानेलाई दिएको भन्दै प्रचण्डसँग असन्तुष्ट बन्दै आएका गजुरेललाई प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । पछिल्लो समय एनसेलको सेयर खरिदविक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्ड पुत्री गंगाको समेत हात रहेको भन्ने हल्लापछि उनले प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए ।