images

१४ किलो सुन प्रकरणमा अख्तियारले पनि छानविन गर्ने

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे १४ किलो सुन प्रकरणमा सरकारी कर्मचारीहरुकाे समेत संलग्न भएकोले अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, गत मंसिर २१ गते राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले सुन भन्सार चोरी पैठारी गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन निर्देशन दिएको हो ।

सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुसमेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको भन्दै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाउन राय दिएको हो ।