images

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका युवालाई सरकारले १० लाख दिने

काठमाडौँ- सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शुक्रवार वरहथवा नगरपालिका ५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो । शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।

साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।