images
images

सुर्यदर्शन सहकारी प्रकरणः दर्लामीलाई छुटाउन माओवादी पूर्व मन्त्रीकै चलखेल

काठमाडौं-पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका सहकारीका उपाध्यक्ष एवम लिखु तामाकोशी गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष कैलाश दर्लामीलाई छुटाउन माओवादी कै नेताहरुले लविङ गरेको खुलासा भएको छ ।

पुस १२ गते पक्राउ परेका दर्लामीलाई छुटाउन पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ कास्की नै पुगेर जिल्ला अदालतका न्यायाधीशहरुलाई भेटेर दबाब दिएको स्रोतले जानकारी दिएको छ ।

हजारौ बचतकर्ताको करोडाै‌ रकम हिनामिना गरेपछी नेपाल प्रहरीले सुर्यदर्शन सहकारीका संचालकहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो । अध्यक्ष रहेका जिबी राई अहिलेसम्म फरार रहेपनि सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामीलाई प्रहरीले पक्राउ गरिसकेको छ । कुमार रम्तेल केही महिनाअघि नै पक्राउ परेपनि दर्लामी भने १२ गते मात्र पक्राउ परेका थिए ।

पुस १२ गते पक्राउ गरेर काठमाडौंबाट कास्की पठाएसँगै पुर्पक्षको लागि थुनामा पठाउनुअघि नै दर्लामीलाई छुटाउन श्याम कुमार श्रेष्ठ पोखरा हानिएका थिए । उनले त्यहाँ गएर केही न्यायाधीसलाई भेटेर दबाब र प्रलोभन देखाएको स्रोतले जानकारी दिएको छ । यो सुचना पाएपछी स्पेस समाचारकाे टिमले उनिसँग सम्पर्क गरेको थियो । उनले आफु घुमघामको लागि पोखरा मै भएको बताएपछी कैलाश दर्लामीलाई छुटाउन दबाब दिन जानुभएको हो रे नि भन्ने प्रश्न सोधेका थियौ । जवाफमा उनले यस्तो वाइयात कुरा नगर्नु भन्दै अस्विकार गरेका थिए ।

श्याम कुमार श्रेष्ठले पनि अपराध गरेर हिरासतमा पुगेका आफ्ना सहपाठीलाई छुटाउन उतिबेला नै पोखरा पुगे पनि यो कुरा भने स्विकार गरेनन् । दर्लामी तिनै ब्यक्ती हुन जसले श्याम कुमार श्रेष्ठलाई चुनाव जिताएर गृहराज्यमन्त्री बनाउनसम्म निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पूर्व उपराष्ट्रपती नन्दबहादुर पुनका छोरा दिपेश पुनका पनि साथी भएका कारण दर्लामीले श्रेष्ठलाई टिकट दिलाउन र मन्त्री बनाउनसम्म माथिल्लो तहबाट नै दबाब दिएका थिए । त्यसको गुन तिर्न नै श्याम श्रेष्ठ दर्लामीलाई छुटाउन पोखरा पुगेका थिए ।

कैलाश दर्लामी दिपेश पुनका अती नै मिल्ने साथी हुन । आरआर क्याम्पस पढ्दा नै कैलाश दर्लामी र दिपेश पुन विद्यार्थी कमिटीमार्फत नजिकिएका थिए । त्यसपछी घनिष्ठ सम्बन्ध भएका दर्लामी र पुन जिबी राईसँग जोडीएका थिए । त्यसो त दिपेश पुन र सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेलबिच अझै नजिकको सम्बन्ध छ ।

२०७३ मा कुमार रम्तेलले घर–जग्गा किन्ने अनि त्यही घर–जग्गा दिपेश पुनको नाममा पास गर्दादेखी नै यिनिहरुको सम्बन्ध निकट देखिन्छ । तिनै रम्तेलमार्फत नै दिपेश र कैलाश जिबी राईसँग जोडीएका थिए । यही क्रममा नै दर्लामीले पोखराको सुर्यदर्शन र पुनले बुटवलको सुप्रिम सहकारीमा शेयर सदस्य भएका थिए । पुनसँगको दर्लामीको नजिकको सम्बन्ध र दर्लामीको श्याम कुमार श्रेष्ठसँग नजिकको सम्बन्ध भएका कारण नै दर्लामी सहकारीमा जोडीएका थिए भने श्रेष्ठ मन्त्रीसम्म बन्न पुगेका थिए ।

सहकारीको अर्बौ रकम राजनीतिक ब्यक्तिले हिनामिना गर्नु र अपराध गरेको अभियोगमा प्रहरीले पक्राउ गर्दा छुटाउन दबाब दिने कानुनविपरितको खेलले बचतकर्ताको रकम डुब्ने जोखिम मात्र बढाएको छैन , राजनीतिक व्यक्तिले कानुनलाई हातमा लिन कुन हदसम्म गिर्न सक्छन भन्ने चित्र पनि प्रष्ट देखाएको छ ।