images

सर्लाहीको बरहथवामा तनाव बढेसँगै पुनः कर्फ्यु

काठमाडौं–सर्लाहीको बरहथवामा पुनःकर्फ्यु लगाएको छ । प्रहरीको गोली लागि एक युवाको हत्या भएको भन्दै स्थानीयले प्रदर्शनलाई जारी राखेपछि उक्त क्षेत्रमा पुनः कर्फ्यु लगाएको हो । आइतबार प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा बरहथवा–६ का जय शंकर साहको गोली लागेर ज्यान गएको थियो । उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ । आफन्तजनहरुले आफ्ना माग पुरा नहुँदासम्म शव नउठाउने भन्दै आन्दोलन चर्काइरहेका छन् ।

स्थानीयले आन्दोलन जारी राखेपछि आइतबार १२ बजेर ४५ मिनेटदेखि सोमबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ ।

सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढालगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले बरहथवाको बजार क्षेत्र (पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल) क्षेत्रभित्र कर्फ्यु आदेश भएको छ,’ आदेशमा उल्लेख छ ।