images

बरहथवा घटनाः जयशंकर साहको शव तीन दिनदेखि सडकमै, कर्फ्यु उलंघन गर्दै प्रदर्शन

सर्लाही-सर्लाहीको बरहथवामा गत शुक्रवार प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका स्थानीय युवा जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेकाे छ। प्रदर्शनकारीहरुले विभिन्न मागहरु राखेर मृतकको शव घटना स्थलबाट उठाउन दिएको छैनन्।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विषयलाई लिएर स्थानीयबासीहरुले गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा न.६ का ३० वर्षीय साहको चोर्निया पुल नजिक घटनास्थलमै मृत्यु भएको थियो।उनको टाउकोमा गोली लागेको थियो।

शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतकका आफन्त र आन्दोलित पक्षसँग वार्ता समेत भएको र सो वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउनु पर्ने,नगरप्रमुख कल्पना कटुवालले राजिनामा दिनुपर्ने ,हत्यारालाई यथासिघ्र निलम्बन गरि जनताको सामु कार्वाही गर्नुपर्ने ,बरहथवाका डिएसपीलाई निलम्बन गर्नुपर्ने ,मृतकलाई सहिद घोषणा गर्नुपर्ने ,अस्पताललाई मृतक साहको नामबाट नामांकन गर्नुपर्ने ,बरहथवा स्थित नेपाल बैंक चौकमा मृतकको सालिक बनाउनुपर्ने ,मृतकको परिवारलाई जागिर दिनुपर्ने ,स्वास्थ्य प्रमुखलाई निलम्बन गर्नुपर्ने लगायतका मागहरु राख्दा कुनै निष्कर्ष ननिश्किएपछि वार्ता रोकिएको थियो।

आइतवार बिहान पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल भएको छ। स्थानीयहरु शुक्रवार दिउँसो देखिनै मृतक साहको शवलाई सडकमा रुँगेर बसेका छन् ।उनीहरू माग सम्बोधन नहुन्जेलसम्म सडकबाट शव उठाउन नदिने अडान लिएका छन् ।

सरकारले तीन सदस्यीय छानबिन समिति बनाएर घटनको छानबिन गरी दोषीलाई कार्यवाही गर्ने र मृतकको परिवारलाई राहत स्वरूप १० लाख रुपैया दिने निर्णय गरेपनि आन्दोलन रोकिएको छैन । बरहथवाको अवस्थालाई थप बिग्रन नदिन जिल्ला र प्रदेशबाट समेत थप सुरक्षाकर्मीहरु मगाएर तैनाथ गरिएको छ।बजार क्षेत्र ,नगरपालिका कार्यालय र नगरप्रमुख कटुवालको घरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

गएको असोज ९ गते नगरप्रमुख कटुवाल सहितका जनप्रतिनिधिहरुले कार्यपालिका बैठकबाट प्राथमिक स्वस्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। निर्णयलाई कार्यान्वयनको माग गर्दै काँग्रेस ,जसपा,लोसपा,जनमत र बहुजन एकता पार्टीले दबाब दिंदै आएका थिए।

तर पुस १८ गते बसेको कार्यपालिका बैठकले असोज ९ गतेको निर्णयलाई उल्ट्याउँदै उक्त स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भनि भएको निर्णय स्थगित गर्ने निर्णय गरेपछि तनाव बढेको थियाे। अवस्था झनझन बिग्रिदै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पुनः दोस्रोपटक आज(आइतवार)दिउँसो १२ः४५ बजेदेखि भोली सोमबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्युकै बीच प्रदर्शनकारीहरु दिनभर प्रदर्शन जारी राखेका छन् । उक्त प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार तथा दर्जनौं हवाइफायर गरेका छन् । प्रदर्शनकारीहरु पनि प्रहरीहरु माथि ढुंगामुढा गर्दै बोतल प्रहार गरेका छन् ।उनीहरू इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र रहेको खरको छानो भएको घरमा आगो लगाएका छन् । जिल्ला प्रशासन कार्यालय मलंगवामा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहको रोहवरमा छलफल जारी छ।