images

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४७ जना मतदाता

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले यसअघि पुस २० गते प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आइतबार अन्तिम नामावली प्रकाशन गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। आयोगले प्रकाशन गरेको नामावली अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या २ हजार ४७ जना छन् ।

जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन् । प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको हो।

यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।