काठमाडौं–कोरोनाको संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई अनुरोध गरेको छ ।
महाशाखाले आज एक विज्ञप्ति जारी गरी सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई कोभिड–१९ संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो ।
महाशाखाले पिसिआर पोजेटिभ विरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि अनुरोध गरेको छ । केही देशहरुमा कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट ’जेएन.१’ को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ ।
नेपालमा पनि उक्त भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण बढिरहेको सन्दर्भमा संक्रमण र त्यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड अपनाउने निर्णय गर्दै आजै सबै निकायमा सर्कुलर गरेको जानकारी गराएको छ ।