images
images

सुरक्षा निकायले पूर्ण स्वामित्व सहित जिम्मेवारी पूरा गर्नुपर्छ:रक्षामन्त्री खड्का

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवनको सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण र संवेदनशील विषय भएकोले यसको कार्यान्वयनमा सबैले आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

रक्षा मन्त्रालयमा भएको राष्ट्रिय सुरक्षा नीति-२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरू सबैले पूर्ण स्वामित्व र अपनत्व लिँदै गम्भीरतासाथ जिम्मेवारीमा पूरा गर्न आवश्यक रहेको बताए।

उनले कार्यक्रममा उपस्थित सबै मन्त्रालय तथा निकायका प्रतिनिधिहरूलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना(२०७७ मा आ(आफ्नो मन्त्रालयरनिकायलाई जिम्मेवारी तोकिएका विषयमा हालसम्म भएका प्रगतिहरू र कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा एक हप्ताभित्र लिखित रूपमा रक्षा मन्त्रालयमा विवरण उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ मा उल्लेख भएका मन्त्रालय तथा निकायहरूका प्रतिनिधिहरूले आ-आफ्नो मन्त्रालय तथा निकायलाई जिम्मेवारी तोकिएका विषयमा भएको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा चुनौती र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा चाल्नुपर्ने कदम तथा उपायहरू सम्बन्धमा आ-आफ्नो धारणा राख्नुभएको थिए।

समीक्षा बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकोले नेपाल सरकारका अरू नीतिहरू यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने कुरा औँल्याए।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर नेपाल सरकारका सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा यो नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध फोकल पर्सनहरूको उपस्थिति थियो। कार्यक्रम रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।