images

भ्रष्टाचार मुद्धामा पूर्व डिआईजी शाहलाई तीन वर्ष कैद सजाय

काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोएिको छ । मदन पुरस्कार विजेता साहित्यकारसमेत रहेका शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो ।

विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित दुई जना दोषी ठहर गरेकोमा बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो । क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए ।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । उक्त रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला भएको हो । यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ ।