images

दाङ बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको पहिचान खुल्यो

काठमाडौं- नेपालगंजबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति साढे १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो।

दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ। थप २३ जना घाइते भएका छन् ।मृतकहरूमा १ महिला र ११ पुरूष छन्। मृतकमध्ये ८ जनाको परिचय खुलेको छ।

मृतकहरूमा बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेका ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ बर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन्।

त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ बर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी जनक मल्लले जानकारी दिए।

दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।