images

मेलम्चीको पानी काठमाडौं आइपुग्यो,पानी नियमित रुपमा उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं– मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गरेका छन् ।

जसअनुसार आजदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । एक दुई दिनभित्र सबै ठाउँमा पानी वितरण भइसक्ने बताइएको छ । मेलम्ची खोलाबाट गत बुधबारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिबार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी आइरहेको छ ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । त्यसपछि दिउँसो र राति गरेर दुई सिफ्टमा काम गराएर २८ दिनको कार्य योजना भन्दा अगाडि नै पानी ल्याउन सफल भएको जनाइएको छ ।


सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने बताएका हुन् ।

‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ ।’