images
images

पत्रकार महताराको पहलमा जाजरकोट डाँडाबुदार्नका- २५ घरधुरीलाई राहत वितरण

काठमाडौं–जाजरकोटको छेडागाड नगरपालिका-९ डाँडाबुदार्न टोलमा राहत वितरण गरिएको छ । स्पेस फोरके टेलिभिजनमा कार्यरत पत्रकार नरेन्द्र महताराको विशेष पहलमा उक्त टोलका २५ घरधुरीलाई राहत स्वरुप न्यानो कपडा वितरण गरिएको हो ।

पहिलो चरणमा स्वीजरल्याण्ड निवासी जया गेराल्डिनेकाे व्यक्तिगत सहयोगमा ६० थान बलांकेट, २ सय ३५ थान टोपी र केही जोर बच्चाको जुत्ता वितरण गरिएकाे थियाे। दोस्रो चरणमा आजको प्रेसका प्रधान सम्पादक रोहित भण्डारी ‘सुकदेव’ को व्यक्तिगत सहयोग र र महताराकाे समन्वयमा २५ घरधुरीलाई प्रतिघर १ का दरले बलांकेट वितरण गरिएको छ ।

अहिलेसम्म राहतका सामग्री लिएर कुनै नेता तथा संघ, संस्था नपुगेको ठाउँमा यसरी राहतका सामग्री पुग्दा निकै खुसी भएको पीडितहरुले बताएका छन् । राहत वितरणमा शक्ति र पहुँच हावी भइरहेका बेला यसरी गाउँमै राहत पुर्‍याएर वितरण गरेकोमा पीडित टेकबहादुर महताराले खुसी व्यक्त गरे । ‘अहिलेसम्म हाम्रो डाँडाबुदार्नमा राहतका सामग्री ल्याएर कोही नेता तथा संघसंस्था आएका छैनन्’, उनले भने ‘चिसो बढिरहेका बेला हामीलाई सहयोगी मनहरुले राहतका सामग्री उपलब्ध गराएर ठूलो गुण लगाउनु भएको छ, यसले हामीलाई थोरै भएपनि न्यानो अनुभूति दिलाएको छ ।’

यस्तै, भगवती सार्कीले राहत पाएकोमा खुसी व्यक्त गर्दै भनिन, ‘हामी चिसोले पीडित भएका थियौं । यस्तो अवस्थामा थोरै भएपनि हामीलाई पहिलोपटक राहतका सामग्री उपलब्ध भएका छन् । यसले हामीलाई ठूलो सहयोग पुगेको छ ।’

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले सो टोलमा भौतिक क्षति गरेको थियाे । अधिकांश घरहरु चर्किएका छन् । घरहरु चर्किएपछि भित्र बस्न समस्या भएको छ । सर्वसाधारण खुला आकाशमुनि बस्न बाध्य छन् । अस्थायी आवास निर्माणका लागि गएको अनुदान वितरण हुन नसक्दा थप समस्या भएको छ ।

भूकम्पको तीन महिना बित्नै लाग्दा पनि कतिपय पीडितहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् । जसले समस्यामाथि झन समस्या थपेको छ ।