images

तत्काल १६ हजार दरबन्दी स्वीकृत नभए अस्पतालहरु बन्द हुने स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं– केन्द्रीय अस्पतालहरुमा तत्काल १६ हजार दरबन्दी आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले केन्द्रीय अस्पतालमै ठूलो संख्यामा दरबन्दी आवश्यक रहेको बताएका हुन् ।

दरबन्दी स्वीकृत नहुने हो भने ५ सय शैयाका केन्द्रिय अस्पतालहरु बन्द हुने अवस्थामा रहेको उनको भनाइ छ । सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पतालका लागि पनि दरबन्दी थप गर्न प्रस्ताव पठाइएको उनले जाकारी दिए । सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउन सम्भव नरहेको स्पष्ट पारे ।

बैठकमा सांसदहरुले रोग लाग्नै नदिने गरी जनचेतनामुलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह गरिमाले जिल्लामा रहेका सरकारी अस्पतालहरु बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना गरिन् ।

सांसद शाहले जनताले सेवा नपाउने अस्पतालहरुमाथि सरकारले कडा निगरानी राख्नुपर्ने पनि बताइन् ।