images
images

एकै वर्षमा लोक सेवाका ५ परीक्षा पास

रेसुंगा – गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा पास गरेकी हुन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन् ।

सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,ु उनले भनिन् । परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । एक महिना मात्र तयारी गरेर परीक्षा पास भएको उनले बताइन् । रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ, उनी भन्छिन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ सालमा पास गरेकी हुन् । त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट पास गरेकी हुन् । उनी अहिले बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत पनि छिन् ।