images

शिक्षा समितिले माग्यो एमडीएमएस र टेरामक्स खरिदका कागजातहरु

काठमाडौं–प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम एमडीएमएस र टेरामक्स खरिदमा भएको अनियमितताबारे अध्ययन गर्ने भएको छ ।

बिहीबारको समिति बैठकले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । साथै समितिले एमडीएमएस र टेरामक्स खरिदसम्बन्धी अहिलेसम्मका सबै कागजात झिकाउने निर्णय पनि गरेको छ ।

संसदको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले बिहीबारको बैठकमा एमडीएमएस, टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो ।

बैठकमा सांसदहरुले टेरामक्स प्रविधिको औचित्यमाथि प्रश्न उठाएका थिए । दुरसञ्चार कम्पनीहरुले अनुगमनका क्रममा आन्तरिक रुपमा नै टेरामक्स प्रविधि जडान गरेकाले पनि प्राधिकरणले छुट्टै रुपमा टेरामक्स खरिद र जडान गर्न आवश्यक नहुने उनीहरुको भनाइ छ ।

सांसदहरुले प्रश्न उठाएपछि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएकाे छ । साथै समितिले एमडीएमएस र टेरामक्स प्रविधि खरिदकाबारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात पनि मागेको छ ।

एमडीएमएस र टेरामक्स दुवै प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेकाे थियाे। भन्सारबाट अनधिकृत रुपमा भित्रिने मोबाइल सेटहरुको अनुगमन र व्यवस्थापनका लागि एमडीएमएस प्रणाली खरिदको निर्णय भएको थियो । नेपालमा हुने कल बाइपास र राजस्व चुहावटको अनुगमनका लागि भन्दै टेरामक्स प्रणाली खरिदको निर्णय भएको थियोे । अनियमितताका कारण दुवै खरिदका निर्णय विवादमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि दुवै प्रणाली खरिदको फाइलमाथि अनुसन्धान गरिरहेको छ ।

बैठकमा मन्त्री शर्माले अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडीएमएसबारे छानबिन मग्रीबारे छानबिन समिति बनाइएको र त्यसमा गडबडी भएको निष्कर्ष निकालेको उनको भनाइ छ । एनसेलको ८० प्रतिशत शेयर खरिद–बिक्रीबारे छानबिनका निम्ति समिति बनाइएको र त्यसले काम गरिरहेको पनि मन्त्री शर्माले जनाकारी दिइन् ।

आफू आएपछि मन्त्रालयभित्रका बेथिति हटाउन पहल गरेको र अनियमतताको छानबिन थालिएकाले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएको उनको दाबी छ । सांसदहरूले खनालले राजीनामा दिएर मात्र भाग्न खोजेको भन्दै प्रश्न उठाएपछी मन्त्री शर्माले यस्तो जवाफ दिएकी हुन् ।