images

नेपाली फर्काउने कुरामा सरकारले भनेपनि रुसले मान्ने स्थितीमा छैनः प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा रुस सकारात्मक नहुने प्रष्ट पारे ।

आइतबार विहान युगाण्डाबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसबाट नेपाली फर्काउने विषयमा पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताए ।

आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन ।’

युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराए । ‘रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटक–पटक यो विषयमा कुरा गर्नुभएको छ । युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा जहाँ पायो त्यहीँ जान हुँदैन भन्ने कुरामा जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान समेत गरे ।

नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील रहेको प्रचण्डको भनाइ रहेको छ ।