images

६ महिनामा २२ अर्ब २२ करोडको खाद्यान्न आयात

काठमाडौं– नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो ।

यता नेपालबाट भने ६० लाख ४३ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालबाट निर्यात गरिएका अधिकांश खाद्यान्न वस्तुमा रैथाने बाली रहेको विभागको तथ्यांकमा उल्लेख छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गहुँ तथा गहुँजन्य वस्तु १२ करोड ३९ लाख ६८ हजार किलो अर्थात् १ लाख २३ हजार मेट्रिक टन आयात भएको छ ।

सो गहुँ मेक्सिको र भारतबाट आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ । सो गहुँ बराबर ४ अर्ब ९९ करोड २८ लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै, ३ अर्ब २१ करोड २५ लाख रुपैयाँको बासमती चामल आयात भएको छ । सो रुपैयाँ बराबर २ करोड ४७ लाख ७९ हजार किलो बासमती चामल आयात भएको छ । बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै, १ लाख ५७ हजार मेट्रिक टन मकै आयात गरिएको छ । सोबापत ६ अर्ब ६३ करोड ६४ लाख रुपैयाँको मकै भित्र्याएको हो । अर्जेन्टिना, भारत, थाइल्याण्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिएको हो ।

यस्तै, धान तथा पोलिस गरेको चामल लगायत अन्य खाद्यान्न वस्तु ७ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको १७ करोड २० लाख किलो अर्थात् १ लाख ७२ हजार मेट्रिक टन आयात भएको हो । ६ महिनामा नेपालले ४९ हजार ४ सय ४९ किलो अर्थात् ४९ मेट्रिक टन खाद्यान्न वस्तु निर्यात गरेको छ । सो खाद्यान्न वस्तु बराबर ६० लाख ४३ हजार रुपैयाँ मात्रै भित्र्याएको छ ।