images

सेक्युरिटी प्रेस प्रकरणः सुनिल पौडेल र विकल पौडेल पक्राउ

काठमाडौं–नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ ।

त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो । अख्तियारले दुवै जनालाई बिहिबार अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीहरु सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त हुन् ।

भ्रष्टाचार मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका थिए । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात पनि नियन्त्रणमा लिएको हाे । २०८० असोज १५ गते अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायक अर्थका बजेट महाशाखा प्रमुख मधु मरासिनीविरुद्द मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।