images

प्याड खरिदमा भ्रष्टाचार, गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध मुद्धा दर्ता

काठमाडौं–सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव र नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेकाे जनाइएकाे छ । गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले जनाएको छ ।