images
images

सरकारी अनुदानको मल बाटोबाटै गायब

काठमाडाै-संघीय सरकारले बाँकेको नरैनापुरका किसानका लागि पठाएको अनुदानको मल बाटोबाट हराएको पाइएको छ।

नरैनापुर-५, मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २०० बोरा (प्रतिबोरा ५० किलो) संघीय सरकारबाट अनुदान प्राप्त भएको थियो। त्यसमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

पोखरेलका अनुसार ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेश भएको छ भने बाँकी हुनुपर्ने १३० बोरा युरिया मल बाटोबाटै गायब भएको देखिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुख समेतको सहभागितामा गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी राप्ती कृषि सहकारी संस्था लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो।

सहकारीले प्रचलित कानून विपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐन बमोजिम दुई लाख जरिवाना गरिएको पोखरेलले बताए। अहिले गोदाममा भएको ६४ बोरा अनुदानको मल सिल गरिएको छ भने गायब १३० बोरा मलबारे सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिइएको छ।

अनुदानको मल तोकिएको सहकारी मार्फत तोकिएका क्षेत्रका किसानले पाए/नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो।