images

राष्ट्रियसभा हारेकाहरुको व्यवस्थापन हो कि विज्ञहरुको थलो ?

काठमाडौं–राष्ट्रिय सभा दलहरुको सौदाबाजीमा चेपुवामा पर्दै गइरहेको छ । स्थायी सदनको रुपमा चिनिँदै आएको राष्ट्रिय सभाको परिकल्पना विपरित दलहरुले हुर्मत लिइरहेका छन । संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रूपमा परिकल्पना गरेको छ ।

राष्ट्रिय सभाको मूल भावनामा भनिएको छ ,‘सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य छ ।’
विहिबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको मत परिणाम हेर्ने हो भनेपनि दलहरुको हकैम जबरस्त देखिन्छ । जस अन्तर्गत १८ सिटमा सत्ता गठबन्धन र एउटामा नेकपा एमाले विजयी भएका छन् ।

संविधानको भावना र राष्ट्रिय सभाको मूलमर्म विपरित दलहरुले राष्ट्रिय सभालाई प्रतिनिधि सभामा हार व्यहोरेका, दलका निकटम व्यक्तिहरुकै व्यवस्थापन गर्दा आलोचना भइरहेको छ ।

राष्ट्रिय सभालाई मुख्य गरी विज्ञ सेवा प्रदान गर्ने, कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने, नियमन र निर्देशन गर्ने तथा संसदीय सुनुवाइ गर्ने जिम्मेवारी छ । तर, राष्ट्रिय सभा सदस्यहरूले यी कामलाई प्रभावकारी बनाउन चुकेको विज्ञहरूले नै टिप्पणी गरिरहेका छन् ।

कलाकारदेखि कविसमेतको व्यङ्ग्य
सोही विषयका सन्दर्भमा हास्य कलाकार दीपक राज गिरीले व्यङ्ग्य गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन,‘ छोराले केहि गर्न सकिन भनेर खूब चिन्ता गर्दैथ्यो , मैले सम्झाए“बावु हार नमान केहि नभए राष्ट्रीय सभा छंदैछ नि ‘!”

त्यस्तै पछिल्लो समय निकै रुचाइएका हस्तलिखित कवि अर्जून पराजुलीले पनि आफ्नो कविता मार्फत व्यङ्ग्य प्रहार गरेका छन । उनले लेखेका छन्,‘संसदमा कसैलाई जोडेपनि,कसैलाई घटाए पनि,फरक के नै पर्छ र महोदय हिसाबमा,रिजल्ट निस्कने उहि जिरो हो ।’ अंक गणितको संसदमा ठूलो र सानो नभई काम र परिणाम के कस्तो भन्नेमा मूल्यांकन गर्नुपर्नेमा विज्ञहरुको जोड देखिन्छ ।

अंकगणितमा माओवादी पहिलो
राष्ट्रिय सभामा माओवादी केन्द्र १८ सिट सहित पहिलो,नेपाली कांग्रेस, १६ सहित दोस्रो र नेकपा एमाले १० सिट सहित तेस्रो बनेका छन् । यसका साथै एकीकृत समाजवादी, ८, जसपा, ३, लोसपा, १ र जनमोर्चाको १ सिट सहित राष्ट्रिय सभामा उपस्थिती हुने भएको छ ।


स्वतन्त्र तीन मेयरद्वारा मतदान बहिस्कार
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र भई निर्वाचन जितेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरे ।


विहिबार भएको निर्वाचनमा उनीहरु तोकिएको तोकिएको समय र स्थानमा गएर मतदान गरेनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौडा र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।

मेयर बालेन साहले पूर्व निर्धारित कार्यक्रम अनुसार विभागीय प्रमुखसँग बैठक राखेका कारण मतदान नगरेको बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले स्पेस समाचारलाई जानकारी दिए । तीनै जना स्वतन्त्र रुपमा निर्वाचित भएका कारण उनीहरुले आफूहरुलाई दल भन्दा बाहिर उभ्याउँदै निर्वाचन बहिस्कार गरेको जनाए । बालेन र हर्कले लौरो र गोपी हमालले आँप चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।